एडिबीकाेआयाेजना कार्यान्वयनमा ढिलाइ सहायता भने तीन खर्ब पुग्याे
काठमाण्डौ – नेपालको बहुपक्षीय दातृ निकाय एसियाली विकाश बैंक (एडिबी) ले नेपालमा आफ्नो सहायता रकम करिब ३ खर्ब पाँच अर्ब रुपयाँमाथि पुर्याएको छ। सडक, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, खानेपानी तथा अन्य क्षेत्रमा अनुदान तथा सहुलियत ऋणको सहयता प्रदान गरेको एडिबीले २०१९ जुलाईसम्म दुई हजार ६५९ मिलियन डलर सहयता रकम पुर्याएको जनाएको छ। एडिबीको सहयतामध्ये सबैभन्दा धेरै सहरी परियोजना तथा खानेपानीका परियोजनामा ३१ प्रतिशत रहेको छ। यो क्षेत्रमा ८३६ मिलियन डलर सहायता छ। त्यस्तै ऊर्जामा ५५४, यातायातमा ५६०, शिक्षामा ४७७, कृषिमा १८३ र अन्यमा ५० मिलियन डलर सहयता उपलब्ध गराउने गरी अघि बढाइएको बिहीबार आयोजित त्रिपक्षीय छलफल कार्यक्रममा जानकारी गराइएको हो। सहायता रकममध्ये समयमै काम अघि नबढ्दा ५० प्रतिशत रकम पनि भुक्तानी हुन सकेको छैन। एडिबीको सहायतामा सुरू गरिएका कुनै पनि आयोजना समयमै सकिएका छैनन्।
हाल काम भइरहेका ७६ आयोजना छन्। जसमा ४३ आयोजना पूरा भएका छैनन्। सन् २०१९ सम्मको लक्ष्यका हिसाबले ऊर्जा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भए पनि अन्यमा लक्ष्य अनुसारको काम हुन सकेको छैन। त्रिपक्षीय समीक्षा बैठकमा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले आयोजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने बताए। कार्यान्वयनको लागि अझै सुधारका काम गर्न बाँकी रहेको उनको दाबी रहेको थियो। अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले उपलब्धि न्यून देखिएको, आवश्यक छलफल हुँदा पनि समधान ननिस्केको भन्दै निराकरणमा केन्द्रित हुनुपर्ने बताए। एडिबीले निर्माण कम्पनी तथा कामदारको समयमा भुक्तानी नभएका कारण पनि काममा ढिलाइ भएको जनाएको छ। सन् २०१९ मा सञ्चालित आयोजनामा ३८ करोड १० लाख डलर भुक्तानी गर्ने लक्ष्य लिइएकोमा हालसम्म १७ करोड १० लाख रूपैयाँ मात्रै भएको छ ।
रासस